धनकुटा । जेठ १० गतेदेखि धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करण अन्तर्गत बुधबार हिजो भएको खेलमा मोरङको बेलबारी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बेलबारीले ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८०औँ मिनेटमा बेलबारीका विदेशी खेलाडी बाबा टुण्डेले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
सातदोबाटोले खेलमा दबाब कायम राख्दै लगातार आक्रमण गरे पनि बेलबारीका गोलकिपर अजय परियारले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई सङ्कटबाट जोगाउनुभएको थियो ।
खेलमा निर्णायक गोल गरेका बाबा टुण्डे खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सिराहाको सलहेश फुटबल क्लब, झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।
आज हुने पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान आमनेसामने हुनेछन् भने भोलि हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब र बेलबारी फुटबल क्लब भिड्ने आयोजकले जानकारी दिएको छ ।
दुवै सेमिफाइनलका विजेताबीच जेठ १६ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । २०५५ सालमा स्थापना भएको सहिद भीमनारायण गोल्डकप २०६३ सालपछि नियमित रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।
धनकुटामा लामो इतिहास बोकेको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको नाम परिवर्तन भएको छ ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रत्येक खेलमा प्लेयर अफ द म्याचलाई नगद ६ हजार रुपैयाँ प्रदान गरिने छ ।
साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३