धनकुटा । धनकुटा १ हिले बजार नजिक डाँडै ढाक्ने गरी, लहरै खाल्डैखाल्डा खनिएका छन् ।
नीजि जग्गा र सामुदायीक वन क्षेत्रमा खनिएका ती खाल्डा पानीको मुल संरक्षणको लागि पुनर्भरण पोखरी हुन्, पोखरी बनाइएपछि सुकेका पानीका मुलसमेत रसाउन थालेका छन् ।
धनकुटा नगरपालिका १ सिजाली टोलकी देवी आलेले पहिलेपहिले खाने पानीको समस्याले पाउनुसम्म दुःख पाउनुभयो ।
घर नजिकै भएको मुहान पनि सुकेर अरुको मुहानसम्म पुगेर खानेपानी ल्याउँदा घर धन्दा भ्याउनै मुस्किल हुन्थ्यो ।
अहिले भने उहाँलाई सजिलो भएको छ ।
-1740733229.jpg)
‘अहिले मुहानमा पानी बढेको छ । पानी बोक्न टाढा जानुपर्दैन । घरघरै धारा छ ।’ उहाँले भन्नुभयो, ‘अहिले गाईवस्तुलाई खुवाउन, सागसब्जी लगाउन धेरै सजिलो भएको छ । पानी लिन टाढा जानुपर्दैन ।’
सिजाली टोलकै चित्रमाया आलेलाई घरमाथि डाँडामा गाउँले सबै मिलेर सानासाना पोखरी बनाएपछि मुहानमा पानी बढेको जस्तो लाग्छ ।
पोहोर सालसम्म मुहानमा पानी सानो थियो । एक गाग्रो पानी ल्याइ पुर्याउन पनि निक्कै समय लाग्थ्यो । ‘पानी बढोस् भने अहिले डाँडामा खाडल खनिएको छ । अहिले मुहान बढ्यो’ उहाँ भन्नुहुन्छ, ‘पहिले पानीको साह्रै दुख थियो ।’
अहिले हिले बजार नजिक डाँडैभरि एक हजारभन्दा बढी सानासाना खाडल खनिएका छन् । यी खाडल धनकुटा नगरपालिका र पानीको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाको सहयोगमा डाँडा मुनिको बोजे मुहान उपभोक्ता समितिले निर्माण गरेको हो ।
पानीको मुल सुक्न थालेपछि पुनर्भरणको लागि खाडल निर्माण गर्दा प्रभावकारी भएको बोजे मुहान उपभोक्ता समितिका अध्यक्ष केदारकुमार सिजाली मगर बताउनु हुन्छ ।
‘पहिले डाँडामा रिचार्ज पोखरी बनाउनुअघि ३२ सेकेन्डमा एक लिटर पानी आउँथ्यो, अहिले ६ सेकेण्डमै एक लिटर पानी आउने भएको छ’ उहाँ भन्नुहुन्छ, ‘अझैँ जग्गा खाली छन्, ती ठाउँहरूमा पनि थप खाल्डा खन्ने योजना छ ।’
धनकुटा नगरपालिकासँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले २०७५ बाटै पोखरी खन्ने अभियान सुरु गरेको थियो ।
त्यसपछि समुदायमा पानी पुनर्भरण प्रणालीबारे सचेतना फैलाउने, जीविकोपार्जनमा सघाउने र समुदायकै सहभागितामा पुनर्भरण पोखरी र खोपिल्टा बनाउने काम निरन्तर रहने मानवअधिकार, सामाजिक सचेतना तथा विकास केन्द्र (हुसाडेक) का अध्यक्ष सरोज भुजेल बताउनुहुन्छ ।
निबुवा–तांखुवा क्षेत्रमा पर्ने पोखरी, सुकेका मूलका साथै पानी रसाउने क्षेत्रहरूको नक्साङ्कन गरिएको छ ।
भूकम्प, जथाभावी सडक निर्माण, पहिरो, जलवायु परिवर्तन, स्रोत संरक्षणको अभाव, रासायनिक मल तथा कीटनाशक औषधिको प्रयोगलाई पानीको मात्रा घट्नुको कारण औँल्याइएको छ ।
स्थानीय सरकार र सरोकारवालाबीच पानीका मुहान सुक्न नदिन समन्वय पनि भइरहेको नगरपालिकाको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१