सर्लाही । धान भित्र्याउने मुख्य समयमा परेको अविरल वर्षाले सर्लाहीका किसान चिन्तित बनेका छन् । तिहार तथा छठ सकिएलगत्तै धान काट्ने र भित्र्याउने तयारी गरेका किसानलाई बिहीबारदेखि परेको वर्षाले समस्या भएको हो ।
काटेर खेतमै सुकाइराखेको धानको पाँजा र काट्न ठिक्क भएको धान समेत खेतमै भिजेको छ । धान काट्ने बेलामा वर्षाको सङ्केत नदेखिए पनि सुकाउने क्रममा पानी परेपछि किसानले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
धान भिजेपछि गुणस्तरमा कमी आउने र उत्पादन घट्ने डरले किसानलाई सताएको छ । खेतमा पाकिसकेको धान ढल्न थालेको र केही ठाउँमा खेतमै उम्रिन सुरु गरेको किसानहरूको भनाइ छ ।
वर्षाले सर्लाहीका सबै स्थानीय तहमा धान भित्र्याउने काम प्रभावित भएको कृषि ज्ञान केन्द्रका सर्लाहीले जानकारी दिइएको छ । जिल्लामा यस वर्ष करिब ४४ हजार ५०० हेक्टरमा धान खेती गरिएकोमा ९० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ भएको थियो ।
तर, मधेश प्रदेशका अन्य जिल्लामा भने खडेरीका कारण यो वर्ष करिब ८२ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालयका अधिकारीहरूले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२