बाँके । लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको ‘लुम्बिनी स्पोर्टस अवार्ड’ को प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी. थापा) मनोनित हुनु भएको छ।
खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आगामी मङ्सिर १८ गते हुने यो अवार्ड समारोहको प्रचार–प्रसार सशक्त बनाउन थापालाई जिम्मेवारी दिइएको संयोजक चाहना शाहले जानकारी दिनुभयो।
एक दशकदेखि खेल पत्रकारितामा सक्रिय थापाले नागरिक दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो। हाल उहाँ कालपृष्ठ दैनिकका खेल संयोजक तथा रंगशाला न्युज डटकमका सम्पादक हुनुहुन्छ। साथै, उहाँ मनाङ मस्र्याङदी क्लब (एमएमसी) फ्यान क्लबका पूर्व अध्यक्ष पनि रहिसक्नुभएको छ।
लुम्बिनी स्पोर्टस अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट टिम र विशेष अवार्ड गरि चार विधामा सम्मान प्रदान गरिनेछ । यो अवार्ड लुम्बिनी प्रदेशको खेल क्षेत्रमा नयाँ ऊर्जा र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२