धनकुटा । उपचार पद्धतिमा नागरिकको आकर्षण बढ्दै जाँदा आयुर्देदिक उपचार पद्धतिमा विश्वास गर्नेहरू पनि बढिरहेका छन् ।
युवा पुस्ताका बिरामी तथा सरोकारवालाको चासो पनि बढ्दै गएको छ । बिरामीहरूको भरोसा बढ्दै जाँदा धनकुटामा आयुर्वेदिक उपचार पद्धतिमा सुधारका काम पनि तीव्र गतिमा भइरहेको छ ।
जिल्ला आयुर्वेद उपचार केन्द्र धनकुटाकाअनुसार विगतमा धनकुटामा रहेको तत्कालीन कोशी अञ्चल आयुवेर्दिक अस्पतालमा उपचार गर्न आउनेको संख्या महिनामा सयको हाराहारीमा हुन्थ्यो । तर अहिले नयाँ उपचार पद्धति अपनाउन थालेपछि जिल्ला आयुर्वेद उपचार केन्द्रमा उपचार गर्ने आउनेको संख्या महिनामै ३ सयदेखि ३ सय ५० जनासम्म पुग्ने गरेको छ।
नियमित उपचार गराउँदै आउनुभएकी धनकुटा २ भीरगाउँकी चन्द्रमाया परियारले आफुले नजिकै रहेको अरु अस्पतालको औषधीले भन्दा आयुर्वेदिक औषधीले आफुलाई ठीक हुने बताउनुभयो ।
जिल्ला आयुर्वेद उपचार केन्द्रमा पेट सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छाला सम्बन्धी रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदिको उपचार हुने गरेको छ । यहाँ २३ प्रकारका आयुर्वेद औषधि निःशुल्क रुपमा दिने गरिएको छ । यसले बिरामीलाई फाइदा पुगेको स्थानीय कमला लुइटेल बताउनुहुन्छ ।
त्यसो त आधुनिक उपचार पद्धतिमा रमाउने युवा पुस्ता पनि आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षित हुन थालेका छन् । यसको मुख्य कारण भनेको बढ्दो आधुनिक खोज प्रविधि अर्थात् सामाजिक सञ्जालको तीव्र प्रयोग नै हो । त्यसको प्रभावस्वरुप युवाहरुले दीर्घकालिन समस्या समाधानमा चासो राख्ने गरेको धनकुटा ७ की लक्ष्मी परियार बताउनुहुन्छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा आर्थिक बर्ष २०८०/२०८१ मा ६ हजार ७ सय ७४ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०८१/२०८२ मा ७ हजार ७३० जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका छन् । यसै वर्षको साउन यता मात्रै पनि २ हजार ६ सय ३६ जनाले सेवा लिइसेकेका छन् । अहिले पछिल्लो समयमा आयुर्वेद स्वास्स्थ्य उपचार केन्द्र धनकुटाका उपचार गराउन आउनेको संख्या तीव्र गतिमा बढेको आयुर्वेद स्वास्स्थ्य उपचार केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठको भनाई छ
।
जनशक्तिको अभाव, आयुर्वेदिक उपचार पद्धतिबारे उचित प्रचार नहुँदा भने अझैं प्रभवकारी बन्न सकेको छैन । केही समयअघि आएको हावाहुरीले समेत भएको संरचनामा क्षति पु¥याएको छ। यद्यपि अहिले संघीय र प्रदेश सरकारसँग भौतिक संरचना निर्माणका लागि बजेट माग गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य विजय सन्तोषी राईले बताउनु भयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा ओ.पी.डी., प्रयोगशाला, निःशुल्क औषधी वितरण, योग, पूर्वकर्म/पञ्चकर्म, सशुल्क फार्मेसी सेवाहरु संचालनमा छन्।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३