रुकुम पूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ ।
स्थानीय धीरजबहादुर क्षेत्रीको घरको पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम भेटिएको हो ।
जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु सकेट बम जस्तो देखिएको छ ।
पुनले भन्नुभएको छ, "स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छ ।"
उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ । आजै बिहानै सेनाको डिस्पोजल टोलीले उक्त बमलाई सुरक्षित व्यवस्थापन गर्ने तयारी भएको प्रहरीको भनाइ छ । सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले यो वस्तु द्वन्द्वकालमै छुटेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२