काठमाडौँ । नेपाली कांग्रेसले पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोर्वधन, प्रशिक्षक कविराज नेगी लामा र सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित सम्मान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई १ लाख ५० हजारसहित सम्मान गर्नुभएको हो ।
खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै कांग्रेस सभापति देउवाले खेलकुद क्षेत्रलाई नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा लिनुपर्ने बताउनुभयाे । उहाँले खेलाडी राष्ट्रका गहना भएको भन्दै उहाँले खेलाडीको सम्मान गर्न सक्नुपर्ने बताउनुभयाे ।
पलेसाले पाराओलम्पिकमा जिताएको कास्य पदकले नेपालको इज्जत बढेको भन्दै सभापति देउवाले देशलाई चिनाउने खेलाडीलाई कांग्रेसले सँधै सम्मान गर्ने बताउनुभयो ।
सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायत कांग्रेस नेताहरू सहभागी हुनुहुन्थ्यो ।
पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी पलेसा र प्रशिक्षकलाई विभिन्न संघसंस्थाले नगद पुरस्कारसहित सम्मान गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१, १६:५०