काठमाडौँ । नेपालमा मोहीको खपत बढ्दै गएको छ । नेपाल डेरी एसोसिएसनले सुरु गरेको राष्ट्रिय मोही अभियान प्रभावकारी बन्दै जाँदा यो मोहीको उपभोग बढ्दै गएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो ।
पोहोरको साउन १ गतेदेखि सुरु भएको अभियानका कारण मोहीको बिक्री बढ्नुका साथै तथ्याङ्क पनि राख्न थालिएको उहाँको भनाइ छ ।
एक वर्ष अघिसम्म मोही बिक्रीको तथ्याङ्क समेत नभएकोमा अहिले दैनिक साढे २ लाख लिटर मोही बिक्री भइरहेको अध्यक्ष दाहालले सीआईएनसँग बताउनुभयो । यसमा पनि घरघरमा खपत हुने मोही र स साना डेरीको मोहीको गणना भएको छैन ।
अहिले मोहीलाई प्याकेजिङ् गर्न पनि थालिएको तथा अस्वस्थकर बोतलको पेय पदार्थको साटोमा विवाह, भोजलगायतका कार्यमा चिसो पेय पदार्थको साटो मोही राख्न थालिएको दाहालले बताउनुभयो । अहिले १ हप्ताको लागि मात्र मोहीलाई प्याकेजिङ् गर्ने गरिएको र अब योभन्दा धेरै अवधिको लागि पनि प्याकेजिङ् गर्ने प्रविधिको खोजी भइरहेको उहाँको भनाइ छ ।
एसोसिएसनले गत वर्षदेखि विद्यालय, क्याम्पस तथा सार्वजनिक कार्यक्रमहरूमा मोही अभियान चलाइरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१, १२:३६