सल्यान । सल्यान कर्णाली प्रदेशको दूध र मासु उत्पादनका हिसाबले अग्रणी जिल्लामध्ये एक हो । पछिल्लो समय प्रदेश र स्थानीय तहले उत्पादनको आधारमा दिइरहेको प्रोत्साहन अनुदानले व्यावसायिक पशुपालनमा लागेका किसानलाई ठूलो राहत पुगेको छ ।
कर्णाली प्रदेश सरकारले किसानले बेच्ने प्रत्येक लिटर दूधमा पाँच रुपैयाँ अनुदान दिने नीति लागू गरेको छ । त्यस्तै, जिल्लाका केही स्थानीय तहहरूले पनि दूध तथा खसी–बोका बिक्रीमा प्रोत्साहन अनुदान दिन थालेपछि किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ ।
चालु आर्थिक वर्षमा मात्र सल्यानका किसानहरूले दूध बिक्री गरे बापत २३ लाख रुपैयाँभन्दा बढी अनुदान पाएका छन् ।
सल्यानको दार्मा गाउँपालिका–५ का किसान आईतु खड्काले भैँसी पाल्दै आउनुभएको छ । पहिले बजारसम्म सहज पहुँच नहुँदा उचित मूल्य पाउन गाह्रो हुने गरेकोमा अहिले गाउँकै डेरीमार्फत दूध बिक्री गर्न पाएपछि उहाँलाई सजिलो भएको छ ।
आईतु मात्रै होइन, दार्मा गाउँपालिका–५ लम्मपाखाका प्रताव खड्काले लामो समयदेखि भैँसीपालन गदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘भैँसी पहिलेबाटै पाल्दै आएको हुँ, अहिले पालिकाले दूधमा अनुदान दिन थालेपछि थप उत्साहित बनाएको छ ।’
दुध बिक्रीबाट प्राप्त आम्दानीसँगै थप अनुदान पाउँदा किसानहरू उत्साहित भएका छन् । दार्मा गाउँपालिका–५ त्रिवेणीस्थित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थाले यस वर्ष १ लाख ५० हजार लिटर दूध बिक्री गरे बापत ११ लाख ७० हजार रुपैयाँ अनुदान पाएको छ ।
जसमा प्रदेश सरकारको ५ रुपैयाँ र गाउँपालिकाको थप ३ रुपैयाँ प्रति लिटर अनुदान समावेश छ । सहकारीले २०७६ सालमा गाउँमै चिस्यान केन्द्र स्थापना गरेपछि दूध बिक्रीमा सहजता र आम्दानीमा वृद्धि भएको संस्थाका अध्यक्ष सुरेन्द्र केसी बताउनुहुन्छ ।
किसानलाई पशुपालनमा आकर्षित गर्न दार्मा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि प्रोत्साहन अनुदान योजना लागू गरेको हो । यसले उत्पादन मात्र नभइ, गाउँमै रोजगारी र आत्मनिर्भरता बढाएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीको भनाइ छ ।
पशु सेवा कार्यालयकाअनुसार गत वर्ष जिल्लामा १ करोड ८० लाख ५८ हजार लिटर दूध उत्पादन भएको थियो, जुन अघिल्लो वर्षकोभन्दा बढी हो ।
किसानका खातामा जम्मा गरिएको २१ लाख ५ हजार ४८ रुपैयाँ अनुदान रकमले उत्पादन र खपत दुवैमा सकारात्मक प्रभाव पारेको कार्यालयका प्रमुख गोविन्द महतले बताउनुभयो ।
दार्मा गाउँपालिकाले दूधमा थप ३ रुपैयाँ र खसी–बोका बेच्दा प्रतिकेजी ५० रुपैयाँ अनुदान दिने नीति लागू गरेपछि भैँसी तथा बाख्रापालनप्रति किसानको आकर्षण झन् बढेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा पालिकाले २ लाख ४९ हजार ६ सय १० लिटर दूध बिक्री बापत ७ लाख ४८ हजार ८ सय ३० रुपैयाँ र ३९ हजार ७ सय ४२ केजी जिउँदो खसी बिक्री बापत ५ लाख २६ हजार ६ सय रुपैयाँ अनुदान वितरण गरेको छ ।
प्रोत्साहन अनुदानले सल्यानका किसानलाई पशुपालनमा आत्मविश्वासी र उद्यमशील बनाउँदै लगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२