काठमाडौँ । सेभ द चिल्ड्रेनले मधेश प्रदेशको जलेश्वर नगरपालिकालाई महोत्तरीको नेपाल-भारत सीमानाको प्रवेशद्वार मलिवरा, भिट्टमोडमा नवनिर्मित स्वास्थ्य सहायता कक्षको भवन आज हस्तान्तरण गरेको छ ।
कोभिड-१९, एचआईभी/एड्स, क्षयरोग र औलो जस्ता सरुवा रोग नियन्त्रण गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजारको लागतमा कन्टेनरमा आधारित उक्त स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहको उपस्थितिमा सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी दीपक पौडेलले जलेश्वर नगरपालिकालाई भवनको स्वामित्व हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि, मधेश प्रदेशका स्वास्थ्य सचिव एवं निर्देशक, प्रमुख जिल्ला अधिकारी तथा जलेश्वर नगरपालिकाका स्वास्थ्य अधिकारी र अन्य सरोकारवालाहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी दीपक पौडेलले भन्नुभयो, “नेपालमा ग्लोबल फण्ड कार्यक्रमले एचआईभी, क्षयरोग र औलो उन्मूलन र कोभिड १९ नियन्त्रण गर्न सरकारका योजना तथा कार्यक्रमलाई सहयोग गर्ने उद्धेश्यले नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ । ठूलो सङ्ख्यामा यस नाका हुँदै नेपाली आप्रवासी मुलुकमा भित्रने गर्दछन् । यस स्वास्थ्य सहायता केन्द्रले जोखिममा रहेका आप्रवासी जनसङ्ख्या र स्थानीय समुदायमा सङ्क्रामक रोग रोकथाम र नियन्त्रण गर्नको लागि महत्वपूणर् स्वास्थ्य सेवा केन्द्रको भूमिका खेल्ने विश्वास गर्दछु ।”
देशको प्रमुख आवागमन विन्दु वा प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत सङ्क्रामक रोगको नियन्त्रण र निवारण गर्ने नेपाल सरकारको प्रयत्नमा सहयोग स्वरुप सेभ द चिल्ड्रेनले स्वास्थ्य सहायता कक्षको स्थापना गरेको हो ।
स्वास्थ्य सहायता कक्षले एचआईभी/एड्स, कोभिड १९, क्षयरोग र औलो जस्ता सङ्क्रामक रोगहरूको लागि नियमित परामर्श, परीक्षण र प्राथमिक हेरचाह सेवाहरूको एकीकृत सेवा प्रदान गर्दछ र थप उपचारको लागि प्रेषण सेवा प्रदान गर्दछ ।
यस स्वास्थ्य सेवा संरचना विशेषतः भारतबाट फर्केका आप्रवासीहरू र स्वास्थ्य सेवाबाट वञ्चित अन्य समूहरू लक्षित गरी स्थापना गरिएको हो ।
रोगहरूको उपचार व्यवस्थापन प्रभावकारी बनाउन यस स्वास्थ्य सहायता कक्ष नेपाल सरकारको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आवद्ध रहनेछ ।
ग्लोबल फण्ड अनुदानको प्रिन्सिपल रिसिपियन्टको रुपमा सेभ द चिल्ड्रेनले नेपालमा एचआईभी/एड्स, क्षयरोग र औलो रोग अन्त्यको लागि नेपाल सरकारसँग काम गर्दै आएको छ ।
यसअघि सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमले कोशी प्रदेशको मोरङको रानी-जोगवानी प्रवेश बिन्दुमा जीणर् अवस्थामा रहेको स्वास्थ्य सहायता कक्ष भवनको १५ लाख ७६ हजार रुपैयाँको लागतमा मर्मत गरेको थियो ।
सेभ द चिल्ड्रेनले उक्त भवन गत मंगलबार, अर्थात् २६ असार २०८१ मा कोशी प्रदेशको विराटनगर महानगरपालिकालाई उक्त भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थियो ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८१, १६:२७