काठमाडौँ । सशस्त्र प्रहरीको क्लव एपीएफले ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी कप क्रिकेटको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले हराउँदै एपीएफले चौथो पटक उपाधि जितेको हो ।
१५६ रनको लक्ष्य पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५३ रन बनायो। जितका लागि अन्तिम ओभरमा ५ रन चाहिएको सुदुरपश्चिमले ३ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमकी कविता जैसीले अविजित ६७ रन बनाउनुभयो । उहाँले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्नुभयो। कप्तान बिन्दु रावल १९ रनमा आउट हुँदा लक्ष्मी साउद २९ रनमा अविजित रहनुभयो ।
एपीएफकी करुणा भण्डारीले २ विकेट लिनुभयो ।
त्यसअघि कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।
एपीएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ७४ रन बनाउनुभयो। ५५ बल खेलेकी उनले ८ चौका प्रहार गरिन्। ओपनर राजमती ऐरीले ५० रन बनाउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१, १५:३७