काठमाडौँ । वेस्ट इन्डिज 'ए'सँगको टी–ट्वान्टी क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । कीर्तिपुरमा भएको खेलमा १७३ रनको लक्ष्य नेपालले ७ बल अघि नै ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि अनिलकुमार साहले ५८ र आशिफ शेखले ५१ रन बनाउनुभयो । यस्तै कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३७ रन बनाउनुभयो । केही समयदेखि खराव लयमा देखिएका कुशलले आज भने आफ्नो विशेषता अनुसार तीन चाैका र तीन छक्का प्रहार गर्नुभयो ।
ओपनर कुशल भुर्तेल ९ बलमा १३ रन बनाएर आउट भएको खेलमा आशिफ र अनिलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्नुभयो ।अनिलले ४५ बलमा चार चारवटा चौका र छक्का प्रहार गर्नुभयो यस्तै आशिफले ३५ बलमा ५ छक्का र २ चौका प्रहार गर्नुभयो ।
वेस्ट इन्डिजका ओवेड मेकोएडले तीन विकेट लिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीका लागि एलिक अथानाजले सर्वाधिक ४२ रन बनाउनुभयो । नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन तथा अविनाश बोहोराले एक विकेट लिनुभयो ।
पहिलो खेल जिते पनि त्यसपछिका तीन खेल लगातार हारेर शृंखला गुमाइसकेको नेपालले अन्तिम खेलमा जीत हात पारेको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१, १५:३१