काठमाडाैँ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा क्रिकेटमा नेपालले चारवटा दुर्लभ विश्व कीर्तिमान बनाएको छ । समूह चरणको पहिलो खेलमा बुधबार मंगोलियासँग खेलेकाे नेपालले २ सय ७३ रनको कीर्तिमानी जीत हात पारेकाे छ । टी-ट्वान्टी क्रिकेटमा यो अहिलेसम्मकै ठुलो अन्तरको जित हो । ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियालाई नेपालले ४१ रनमा समेटेको थियो । मंगोलिया अन्तराष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेको हो ।
नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा धेरै रनको कीर्तिमान पनि बनाएको छ । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध बनाएको २ सय ७८ रन अहिलेसम्मको सर्वाधिक रनको कीर्तिमान थियो ।
नेपालको कीर्तिमानको यात्रा यतिमै रोकिएन । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ५० रन पुरा गर्दै थोरै बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाउनुभयो । यसअघि भारतका युवराज सिंहले १२ बलमा यो कीर्तिमान बनाउनुभएको थियो । ९ बलमा अर्धशतक बनाउने दीपेन्द्रको कीर्तिमान तोड्न अर्को ब्याटरलाई कठिन पर्ने क्रिकेट विश्लेषकले बताएका छन् ।
त्यस्तै, कुशल मल्लले सबैभन्दा चाँडो सतक बनाउने विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले मात्र ३४ बलमा शतक पूरा गर्नुभयो । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिल्नरले बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाउँदै यो कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि न्युजील्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेटका लागि १८४ रनको साझेदारी गरेका थिए।
यसका साथै आजको खेलबाट कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि १९३ रनको कीर्तिमानी साझेदारी गरेका थिए । टी-ट्वानीटी अन्तराष्ट्रियमा यो तेस्रो विकेटका लागि उच्च साझेदारी हो। रोहितले २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रन बनाउनुभयो । उहाँले १९ बलमै अर्धशतक प्रहार गर्नुभएको थियो ।
यस्तै टी- ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै स्ट्राइक रेटको कीर्तिमान पनि दीपेन्द्रसिंहको नाममा बनेको छ । बुधबारको खेलमा उहाँको स्ट्राइक रेट ५२० रह्यो । यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका ड्वेन स्मिथ र क्यानडका साद बिन जाफरको नाममा थियो। दुबैको यस्तो रेट समान ४१४.२८ रहेकाे थियो ।
आजको खेलमा एकै खेलमा सर्वाधिक छक्काको कीर्तिमान पनि बनेको छ । नेपालले २६ वटा छक्का प्रहार गरेको खेलमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पाैडेलले ६ छक्का प्रहार गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०, १०:५७