छिमेकी देश, चीनको वुहान
कोरोना भाइरसको बन्यो मुहान
के गर्नु आमा, 
स्वर्ग जस्तो देश बन्छ कि मानव चिहान
यस्तै डर र त्रासका बीच 
म बिताइरहेछु बन्दी जस्तो जीवन मुग्लानमा
त्यो खरले छाएको छाना
दरिलो, बलियो र चम्किलो बनाउने सपनाले
लखेट्दै लखेट्दै कहाँ पुर्याउँदो रहेछ
मुग्लानमा आज आमा
भोग्नुपरेको छ कोरोनाको कहर
मुटुमा कति छ, कति 
गाउँ फर्कने रहर ।
स्वदेशको कमाइले नभरिने भएपछि परिवारको पेट
 नतिरिएपछि साहूको ऋण 
 तिम्रो च्यातिएको चोली नफेरिने भएपछि
 ठूलाठूला यस्ता सपना बोकेर 
 वर्षौँ बितेछन्, 
 मुग्लान छिरेपछिका मेरा दिनहरु ।
आमा म यता कोरोनाको कहरमा छु ।
 विरानो मुलुक र सहरमा छु ।
देशले सम्झेन मलाई, 
म जस्तै अरुलाई पनि 
सयौँ कोष टाढाको के कुरा 
सीमाना जोडिएका ठाउँबाट पनि 
नेपालीहरू नेपाल छिरेका छैनन् ।
कोही मान्छे किन त्यसै 
कालीमा हामफालोस्
कस्तो हुटहुटी थियो होला,
त्यो मुटुभित्र टेक्ने देशको माटो
र भेट्ने परिवार, आफन्त
आफ्नो माटो विरानो हुँदो रहेछ
बलियाले देशलाई परदेशी बनाइदिएपछि
कस्तो नियति भयो परदेशीको 
कोही शोकाकूल, कोही काकाकूल
न कुनै लुक्ने ठाउँ रह्यो, 
न कतै टेक्ने धरती नै सकुशल भयो
खोइ कहाँ जाउँ,
मेरो पसिनाको करले 
नेताहरूले मात्र पूरा गरे आफ्ना रहर 
त्यसैले मुग्लानमा आमा 
मैले भोगिरहेछु कोरोनाको कहर । 
मनको धोकोलाई पोको पारेर 
लालाबाला गाउँमै छाडेर 
सात समुन्द्र पारी मुग्लान छिरेको म
आज कोरोनाको कहरमै छु ।
कोरोनाको कहरमा सोरिएको जिन्दगी 
डढेलो सल्केझैँ छिनभरमै सकिजाने
सबैलाई खोजीरहेका आँखा, 
बोल्दै गरेको मुख
फेर्दै गरेको स्वास
आँखिर के नै रहेछ
फगत छिनभरमै रोकी जाने
यस्तै डर र त्रासका बीच 
म बिताइरहेछु 
बन्दी जस्तो जीवन मुग्लानमा ।
छिमेकी देश,
चीनको वुहान
कोरोना भाइरसको बन्यो मुहान
के गर्नु आमा, 
स्वर्ग जस्तो मेरो देश बन्छ कि मानव चिहान
 
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७