काठमाडौँ । वैदेशिक रोजगार बोर्डका निर्देशकसमेत रहेका गीतकार टिकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
डिजराज पौडेलको स्वर अनि सङगीत रहेको गीतको म्युजिक भिडिओ काठमाडौँमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडिओ कपिल कार्कीले निर्देशन गर्नुभएको हो ।
भिडिओमा कलाकार नारद खतिवडा, दीपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टीकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतले अभिनय गरेका छन् ।
वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालले रचना गरेको गीतको भिडिओमा रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता, त्यहाँका कठिनाइ अनि पैसा कमाउन गएकाहरू बाकसमा फर्कनुपर्ने अवस्था चित्रण गरिएको छ ।
ढकालले गीतमार्फत नेपाल समृद्ध हुने र विदेशिएका युवा स्वदेश फर्कने अनि कामकै लागि भनेर विदेशीन नपर्ने कल्पना गीतमा गर्नुभएको छ ।
गीतको अन्त्यमा वैदेशिक रोजगारप्रति निराशमात्र हुनुनपर्ने, विदेशमा सिकेको सीपज्ञान नेपाली भूमीमा गर्न सक्ने सकारात्मक सन्देश पनि दिन खोजिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा गीतकार ढकालले आफै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको कल्याणकारी कार्य गर्ने निकायमा कार्यरत रहेकोले वैदेशिक रोजगारीका समस्या, पीडा, वर्तमान अवस्था प्रत्यक्ष रूपमा नजिकबाट अनुभूति गरेको बताउनुभयो ।
उहाँले भावी दिनमा यसको सकारात्मक असर देखिने अनुभूत गरी सो विषयलाई सन्देशमूलक गीतबाट पस्किन खोजेको बताउनुभयो ।
आफूले सानैदेखि लेख्ने गरेको र आगामी दिनमा यस्ता विषय अझै सशक्त रुपमा उठान गर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१