ललितपुरको लगनखेलबाट भक्तपुर जानका लागि बसन्ती उप्रेतीले झण्डै आधा घण्टा गाडी कुर्नुपर्छ । खाली सिट भएको गाडी नपाएपछि उहाँ उभिएर नै भक्तपुर जान तयार हुनुहुन्छ । भीडभाड भएको गाडीमा चढ्दा उहाँले अनेक अफ्ठेरो भोग्नुपरेको छ ।
बेलुकाको समयमा लगनखेलबाट भक्तपुर जाने गाडी नपाइने हुँदा कोचिएरै पनि जानुपर्ने बाध्यता रहेको उप्रेती सुनाउनुहुन्छ । भक्तपुरबाट ललितपुर आउन पनि उस्तै समस्या हुने गरेको उहाँको अनुभव छ ।
साँझको समयमा यात्रा गर्न एकदमै अफेठेरो पर्ने अनुभव सुनाउनुहुन्छ, वनस्थलिका प्रदीप थापा । एक त गाडी पाउन मुस्किल, पाइहाले पनि कोचिएर जानुपर्छ ।
त्यसैमाथि सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा दुःख हुने गरेको थापा बताउनुहुन्छ । काठमाण्डौँ उपत्यकामा बेलुकाको समयमा सवारीसाधनमा हुने अत्यधिक चापले गर्दा प्रायः यात्रुले समस्या झेल्नु परेको बताउने गरेका छन् ।
गाडीमा अफ्ठेरो परेको बेला उल्टै चालक र सहचालकले पछाडी सर्नुस् भन्दै सताउने गरेको थापाले बताउनुभयो । काठमाण्डौँमा यात्रा गर्दा पर्ने जाम र अफ्ठेरोले बिरामी नै पर्ने समस्या आउने गरेको बताउनुहुन्छ एकजना विद्यार्थी सङ्गिता प्रधान ।
काठमाण्डौँमा अधिकांश मानिसहरूले यात्राका लागि सार्वजनिक बस प्रयोग गर्दछन् । दिउँसो खाली नै भए पनि बिहान र साँझको समयमा सवारीसाधनमा मानिसको चाप बढी हुन्छ । बिहान कलेज तथा कार्यालय जानेहरू बढी हुने र साँझ पनि घर फर्किनेहरू हुने कारणले सवारीसाधनमा चाप धेरै हुन्छ ।
साँझको समयमा कार्यालय, विद्यालय तथा क्याम्पसबाट घर फर्किने र बिभिन्न कामको लागि घरबाट निस्किएकाहरू सबै घर फर्किने हुँदा बेलुकाको समयमा सार्वजनिक बसमा सवारीसाधनको अत्यधिक चाप बढ्ने रत्नपार्कदेखि भक्तपुरसम्म चल्ने बसका एकजना सहचालक रमेश खत्रीले बताउनुभयो ।
साँझको समयमा गाडी कम हुने, यात्रु धेरै हुने हुँदा कोचाकोच गरेर भए पनि यात्रु हाल्नुपर्ने बाध्यता रहेको खत्री बताउनुहुन्छ । शिक्षा र रोजगारीको अवसरका कारण काठमाडौँ उपत्यकामा जनसङ्ख्याको चाप बढ्दो छ ।
सोहीअनुसार सवारीसाधन सञ्चालन गर्ने बिभिन्न समितिहरूको सङ्ख्या पनि उपत्यकामा पनि बढीरहेको छ । तर सवारीसाधन अपर्याप्त हुँदा बिहान र बेलुका हिड्ने व्यक्तिलाई सार्वजनिक सवारीसाधन पाउन मुस्किल छ । कार्यालय समयमा सार्वजनिक यातायातमा सिट नपाइदा यात्रुहरू हैरान हुने गरेका छन् ।
तथ्याङ्क विभागका अनुसार काठमाण्डौं जिल्लामा १४ लाख २४ हजार यहाँ स्थायी बसोबास गर्नेहरुको सङ्ख्या छ । तर बाहिरबाट आएर बसोबास गरीरहेकाहरुको जनसङ्ख्या यो भन्दा धेरै छ । उनीहरु मध्ये अधिकांशले सार्वजनिक सवारी साधन प्रयोग गर्ने गरेको अनुमान छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६