रुकुम पूर्व । रुकुम (पूर्व) को भुमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा भएको अटो दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो साँझ लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल (जिल्ला अस्पताल) ल्याइएको छ ।
उद्धारपछि उपचारका क्रममा भुमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उहाँका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अटो चालक भुमे–१ लुकुमका २९ वर्षीय जोते घर्ति फरार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा २० जनाको उद्धार टोली खटिएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२