हुम्ला । हुम्ला जिल्लालगायत कर्णाली प्रदेशका जिल्लामा, काउनी, चिनो, फापर जस्ता रैथाने बाली लोप हुँदै गएकोमा स्थानीयबासी चिन्तित छन् ।
स्थानीय बाली परिकारको सट्टा तराईबाट आयातित चामललगायत खानेकुरा बढी प्रयोग गर्न थालेपछि स्थानीय बाली लोप हुँदै गएका हुन् ।
हवाइजहाजबाट सयौँ क्विन्टल चामल ढुवानी भई सस्तोमा उपलब्ध भएपछि यहाँका किसान परम्परागत बाली लगाउनतर्फ आकर्षित नदेखिएका सिमकोट गाउँपालीका १ का किसान हुनी भण्डारीले बताउनुभयो ।
हुम्ला जिल्ला सडक सञ्जालमा जोडिएको छैन । चिनो, काउनीलगायत रैथाने बाली पहिले पहिले भातका रूपमा खाने गरिन्थ्यो । तर अहिले खाद्य संस्थानमा होस् वा व्यापारीको पसलबाट खाद्य बस्तु चामल भित्रिन थालेपछि स्थानीय बाली लगाउन छोडिएको हो ।
हुम्लालगायत कर्णाली जिल्लामा ६ महिना खेती गरिन्छ भने ६ महिना खेत, गरा बाँझै हुन्छन् । पहिला काउनी, चिनो, मार्से छीटो पाक्ने र भोकमरी हटाउने विश्वासका साथ लगाउने गरिएको पाका पुस्ताका नागरिक बताउछन् ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार हुम्लामा १८ सयभन्दा बढी हेक्टर खेतीयोग्य जमिन छ । परम्परागत खेतीबालीले ढाकेको क्षेत्र क्रमशः घट्नुका साथै उत्पादन पनि घट्दै गएको छ । स्थानीय उत्पादनले गरिब र दलित वर्गलाई ५ महिनाका लागि मात्र खान पुग्छ ७ महिना पुग्दैन ।
चामलको सहजता तथा भात खाने बानीलीले पनि रैथाने बाली उत्पदानमा कमि आएको केन्द्रले जनाएको छ । हुम्लामा अझैँ पनि अन्य बालीको तुलनामा कोदो खेती धेरै भूभागमा हुने गरेको छ ।
तर भात खाने बानी बढ्दै गर्दा उत्पादन भएको कोदो पनि कुहिँदै गएको छ । चामलको माग बढ्दै गएपछि भात खाने बानीले कोदो कुहिँदै गइरहेको किसानहरू बताउछन् ।
पहिले पहिले कोदो खोजी खोजी खाने गरिन्थ्यो तर हवाई मार्ग र पैदल मार्ग हुँदै चामल आयत हुन थालेपपछि कोदो खाना छाडेकाले कोदो कुहिँदै गएको सिमकोट गाउँपालीका २ का किसान कर्णबाहादुर बोहोराले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६