काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले आपत्ति जनाउँदै स्थापित न्यायिक प्रक्रियाबाट समाधान खोज्न माग गरेको छ ।
अकोराबले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै सञ्चार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाएको हो।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएको स्मरण गराउँदै सञ्चार सामग्रीप्रति असहमति भएमा त्यसको समाधान स्थापित न्यायिक प्रक्रिया र प्रचलित कानुनमार्फत खोजिनुपर्ने उल्लेख गरिएको छ।
यस विपरीत गरिएको पक्राउ, छापामारी र उपकरण नियन्त्रणमा लिने कार्यले स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको स्वायत्ततामाथि प्रत्यक्ष प्रहार गरेको अकोराबको ठहर छ।
अकोराबले पत्रकारको सूचना स्रोतसँग सम्बन्धित सामग्री तथा उपकरण जफत गरिनु स्रोत संरक्षणको अन्तर्राष्ट्रिय सिद्धान्त विपरीत भएको जनाउँदै यसले खोज पत्रकारितामाथि समेत नकारात्मक प्रभाव पार्ने जनाएको छ।
यस्ता गतिविधिले सञ्चार क्षेत्रमा भय र त्रासको वातावरण सिर्जना गरी स्वतन्त्र तथा जिम्मेवार पत्रकारितालाई निरुत्साहित गर्ने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।
अकोराब नेपालले सरकार तथा सम्बन्धित निकाय समक्ष पत्रकार श्रेष्ठमाथि गरिएको कारबाहीको तत्काल पुनरावलोकन गर्न, जफत गरिएका सञ्चार उपकरण र सामग्री अविलम्ब फिर्ता गर्न तथा कानुनी राज्यको सिद्धान्तअनुसार न्यायोचित प्रक्रिया अवलम्बन गर्न माग गरेको छ।
पत्रकारले निर्भीक रूपमा पेसागत दायित्व निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न समेत जोड दिइएको छ। अकोराबले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र पत्रकारको स्रोत संरक्षणको सिद्धान्तलाई पूर्ण रूपमा सम्मान गर्न पनि माग गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३