काठमाडौं । देशका अधिकांश भू–भागमा लगातार पानी परिरहेको र अझैँ ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय, जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन सरोकारवालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्देशन दिएको छ।
लगातारको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेकाले जोखिमयुक्त सडकमा तत्काल सवारी आवागमन रोक्न तथा सम्भावित विपद् प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि भनिएको हो।
बिपी राजमार्ग, कान्ति लोकपथ, पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडक खण्डलगायत पहिलेदेखि नै जोखिममा रहेका सडकमा कम्तीमा भोलि बिहानसम्मका लागि अग्रिम सूचना दिएर सवारी साधन आवागमन बन्द गराउन भनिएको छ।
पहिरो, बाढी तथा डुबानको उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
सम्भावित क्षति कम गर्न जोखिम क्षेत्रको पहिचान गरी स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गर्नसमेत भनिएको छ। हिमाली क्षेत्रमा हिमपात भइरहेको जनाउँदै पर्वतारोहण तथा पदयात्रालगायतका गतिविधि तत्काल रोक्न आग्रह गरिएको प्राधिकरणका उपसचिव, प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो ।
जोखिमपूर्ण स्थानमा रहेका पर्यटकलाई यथासम्भव सुरक्षित स्थानमा ल्याउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
नेपाल मौसम तथा जलविज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत आधिकारिक निकायबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचना र चेतावनीलाई कडाइका साथ कार्यान्वयन गर्न गृहमन्त्रालयले पनि अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३