काठमाडौँ । पर्वत जिल्लाको जलजला गाउँपालिका-८ स्थित फर्से बस्तिमा कालीगण्डकी नदिको बहाव बस्तीमा पस्दा अन्दाजी ८० वटा घर बगाएको छ ।
गएराति देखि नै बाढी बस्तिमा पस्न सुरु भएपछि मानिसहरू सुरक्षीत स्थानमा गएको बुझिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
मानवीय क्षति भए नभएको बारेमा अझै एकिन हुन सकेको छैन । अन्य घरहरुसमेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्बत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर-सामान तथा सबै स्थानियहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ । यसैबीच आज बिहान करिब साढे १० बजे चितवन जिल्ला भरतपुर महानगरपालिका-१६ झनझनेबाट १० जनाको सकुशल उद्दार गरिएको छ ।
गुम्बाचोकमा अविरल बर्षाका कारण नारायणी नदिको बहाब बढ्न गई उक्त स्थानमा रहेको ३ वटा घर डुवानमा परेर घरको छतमा बसिरहेका १० जनाको उद्दार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट गएको सुरक्षाफौजले रबरबोटको सहायतामा उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सह प्रवक्ता थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३