काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सङ्गठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रुपमा खटिई जान लागेका अधिकृतहरुको लागि सञ्चालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले राष्ट्र र सङ्गठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्नहुँदै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतकासाथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कारबाहीको भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार हटाउन निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र सङ्गठनको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सङ्कलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालनको अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीतिको पूर्ण रुपमा पालना गरी त्रुटिरहित ढङ्गबाट कार्यसम्पादन गर्नसमेत निर्देशन दिनुभयो ।
उहाँले फिल्डमा खटिँदा सानो कमजोरी वा लापरवाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउनुहुँदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रिय स्तरमा भइरहेका विरोध कार्यक्रमहरु, विपद्, सीमा अपराध र समाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुनसक्ने खतराहरुप्रति समयमै सजग रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले सोसल मिडियाको प्रयोग र त्यसको दुरुपयोगको विषयमा सजग रहि कार्य गर्नुकासाथै मिस ईन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरुमा फायरफाइटिङ टिम स्ट्यानवाई राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी ईलाकामा २४सैँ घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमाण्डरहरुलाई निर्देशन दिनुभयो ।
यसअघि विभागीय प्रमुखहरु सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले कमाण्डमा जान लाग्नुभएका अधिकृतहरुलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारवाही गर्न निर्देशन दिनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३