काठमाडौँ । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ्न खोजेको बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल/सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक) २०८१ को बारेमा सरोकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचनले यस्तो बताउनुभएको हो ।
सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजननाबद्ध रुपमा लागि परेको उहाँको भनाइ छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक) २०८१ को बारेमा समितिमा छलफल सुरु भएको जानकारी गराउँदै सभापति शेरचनले अब विज्ञसहित सांसदबीचमा छलफल चलाउने तयारी भएकाले पनि अकोराब/सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचन।"फरेन्सिक विधेयको बारेमा समितिमा छलफल सुरु भएको छ । पहिलो बैठकमा सासदहरूबाट कुरा आएको छ । अब विज्ञसहितको बैठकमा पनि छलफल गर्ने तयारी छ । उक्त छलफलको बेलामा "हेलो सांसद" संवाद कार्यक्रमको प्रतिवेदनले सहयोगी भूमिका खेल्ने विश्वास लागेको छ।" सभापति शेरचनले भन्नुभयो ।
आगामी दिनमा पनि सीआईएनले कानुन निर्माणमा जनता र सरोकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुसी लाग्ने सभापति शेरचनले बताउनुभयो ।
अकोराब/सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक) २०८१ को बारेमा सरोकारवालाबीच यही जेठ ११ मा विशेष संवाद शृङ्खला "हेलो सांसद" मा छलफल गरेको थियो ।
उक्त छलफलमा विज्ञ, सरोकारवालाले दिएका सुझाव तथा विचारलाई व्यवस्थित र एकीकृत गरी आज समिति सभापति शेरचनलाई बुझाइएको हो ।
प्रतिवेदन सभापति शेरचनलाई हस्तान्तरण गर्दै अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले संसदीय मामला, संसदको भूमिका तथा प्राथमिकता लगायतका विषयहरूमा नागरिकलाई सूसुचित गर्ने उद्देश्यले सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले हेलो सांसद कार्यक्रम करिब १० वर्षदेखि सञ्चालन गर्दै आएको बताउँदै जनतालाई संसद र सांसदसँग जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

निर्देशक शिरोमणि ढुङ्गानाले भन्नुभयो, “यस कार्यक्रममा संसदीय मामिलाका विषयहरूमा समुदाय एवं सरोकारवालाहरू र सांसदबीच खुल्ला र नतिजामुखी छलफल गर्ने र सो छलफलका विषयहरूलाई सार्वजनिक बहसमा समेत लैजाने काम भइरहेको छ ।"
अकोराबद्वारा सञ्चालित सीआईएनले साप्ताहिक रूपमा चलाउँदै आएको "हेलो सांसद" कार्यक्रमले सङ्घीय र प्रादेशिक दुवै तहमा संसद र नागरिकबीच सेतुको काम गर्दै आएको छ।
जनसहभागीतासहित हुने यस्तो छलफलले नागरिक तहमा संसदीय मामिलामा अपनत्व बढ्ने र सांसदहरुमा जवाफदेहीताको संस्कृति विकास गर्ने धारणा निर्देशक ढुङ्गानाले राख्नुभयो ।
"कानुन निर्माणको प्रकृयामा सरोकारवालाहरूबीच हुने खुल्ला र रचनात्मक छलफलले सम्बन्धित विषयमा समयसापेक्ष प्रावधान तथा नागरिक एवं सम्बद्ध सरोकारवालाहरूका प्रश्न, सुझाव तथा विज्ञतालाई समेट्ने मौका प्रदान गर्दछ ।" उहाँले भन्नुभयो ।
अघिल्लो आर्थिक वर्षमा १ सयभन्दा धेरै सङ्घीय तथा प्रादेशिक सांसदहरू तथा नागरिहरूबीच छलफल गर्दै अकोराब/सीआईएनले संसदीय मामिलाका विषयमा अन्तरक्रिया तथा जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको थियो।

गत फागुनमा प्रतिनिधी शभा निर्वाचन भएसँगै सङ्घले संसद तथा संसदीय समितिमा छलफलमा रहेका विधेयकहरूमा अन्तरक्रिया गर्ने र नागरिक तथा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूसहितको प्रतिवेदन सम्बन्धित संसदीय समितिलाई हस्तान्तरण गर्दै आएको छ।
यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा उत्पादन तथा प्रसारण भइरहेको "हेलो सांसद" सीआईएनमार्फत हरेक हप्ताको विहीवार बेलुका साढे ७ बजे र भोलिपल्ट बिहान साढे ६ बजे अनि सोही दिन बेलुका ८ बजे पुनः प्रसारण हुन्छ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३