काठमाडौँ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेठ १ गते राति नियन्त्रणमा लिएकाहरुमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेको सशस्त्र प्रहरी सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौँतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ किलो खाली कार्टुन बक्स (सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ ।
नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३