तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका अन्तर्गत बसन्तपुरमा महिला पत्रकारहरूका लागि तथ्य जाँच (फ्याक्ट चेक) सम्बन्धी तालिम हिजोबाट सुरु भएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमले पत्रकारितामा सत्य, तथ्य र जिम्मेवार सम्प्रेषणलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजमा विश्वास कायम गर्न सक्ने बताउँदै पत्रकारितालाई अझ जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना तथा अफवाहका कारण समाजमा भ्रम सिर्जना हुने भएकाले पत्रकारले समाचार सम्प्रेषण गर्दा तथ्य जाँच गरेर मात्र सार्वजनिक गर्नुपर्ने बताउनुभयो।
तालिममार्फत सहभागी महिला पत्रकारहरूलाई तथ्य जाँचको आधारभूत प्रक्रिया, डिजिटल स्रोतको प्रयोग, भ्रामक सूचना पहिचान तथा जिम्मेवार पत्रकारिताबारे प्रशिक्षण दिइनेछ।
आयोजकका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने गलत सूचना नियन्त्रण गर्न यस्ता तालिम अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ।
आयोजकले पत्रकारितामा सत्य र तथ्यमा आधारित सामग्रीको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै यो तालिमले महिला पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय पत्रकारिता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ । हिजोबाट सुरु भएको तालिम ५ दिनसम्म चल्ने छ।
प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३