तेह्रथुम । तेह्रथुम र धनकुटाको सिमास्थित लालिगुराँस नगरपालिका–४, चित्रे बजारमा साना तथा ठूला सवारीसाधनहरूको निःशुल्क यान्त्रिक (प्राविधिक) परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बासन्तपुर तथा यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त पहलमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत सवारीसाधनहरूको ब्रेक, लाइट, टायर, इन्जिन तथा अन्य प्राविधिक अवस्थाको परीक्षण गर्नुका साथै चालक तथा सवारीधनीलाई सुरक्षित यात्रासम्बन्धी आवश्यक सुझाव दिइएको थियो ।
प्राविधिक रूपमा सुरक्षित सवारीसाधन सञ्चालन गर्न नियमित मर्मतसम्भारको महत्वबारे पनि सचेतना गराइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकुमार पण्डितले सवारीसाधन दुर्घटना न्यूनीकरण, ट्राफिक नियमप्रति चालकलाई जिम्मेवार बनाउने र सुरक्षित यातायात संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उहाँले सवारी साधनको नियमित प्राविधिक परीक्षण र ट्राफिक नियमको पूर्ण पालनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबै चालक तथा सवारीधनीलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बन्दना राई, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण ओली, इलाका प्रहरी कार्यालय बासन्तपुरका प्रमुख प्रहरी निरीक्षक रुपेश तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकुमार पण्डित, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३