मुगु । हिमाली जिल्ला मुगुमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने २५ जना मानिस पक्राउ परेका छन्।
मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ।
कार्यालयका अनुसार विहिवार जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका स्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिका सहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपि रविराज थपलियाले बताउनुभयो।
उहाँकाअनुसार अनुमति विना वन प्रवेश गर्ने ब्यक्तिलाई पक्राउ गरिएकाे हाे । यो भन्दा अगाडी पनि जिल्ला प्रहरी कार्यालय र सम्बन्धित प्रहरी चौकिहरुको समन्वयमा ठुलो संख्यामा पनि चोरीका लागि गएका ब्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाई सकेको उहाँले जानकारी दिनुभयो।
यार्चागुम्बा संकलनको लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले हालसम्म कुनै पनि आधिकारिक रुपमा सुचना प्रकाशित गरेको छैन।
गत एक हप्तादेखि यार्चागुम्बा संकलनको लागि विभिन्न छिमेकि जिल्लाबाट अनाधिकृतरुपमा लुकिछिपि वन प्रवेश गर्ने ब्यक्तिलाई पक्राउ गरि सम्झाई बुझाई गरेर सम्बन्धित गाउँ घरमा फकाईएको उहाँको भनाई छ।
एक हप्तादेखिको अभ्यासमा लुकिछिपि वन प्रवेश गर्ने एक सय ५० जना सम्म पक्राउ गरिएकाे थियाे भने आज एकैदिन ठुलो संख्यामा पक्राउ गरेको थपलियाको भनाइ छ। पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखेर बयान लागि हाजिरी जमानी गरेर छोडिने बताइएको छ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ। यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी रहेको छैन।
मुगुम कार्मारोङ्ग गाउँपालिकाले एक सुचना जारी गर्दे यार्सा संकलनमा यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३