मुगु । मुगुम कार्मारोङ गाउँपालिका–८, मह गाउँकी ३० वर्षीया साग्बु लामा सोमबार साँझ जीवनकै सबैभन्दा पहाड छिचोल्न महाभारत जस्तै लागेको थियो । सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किँदै गर्दा साँझ करिब ७ः३० बजे, च्याप्नेगाडको जोखिमपूर्ण भिरालो बाटोमै उहाँ सुत्केरी हुनुभयाे।
त्यो अवस्थामा उहाँ एक्लै आफनो घर जादै हुदैहुनुहुन्थ्याे । उहाँसँग कोही आफन्त थिएन, न सहयोगका लागि कुनै हात थिए । वरिपरि अँध्यारो, तल गर्जिदो कर्णाली नदी र माथि डरलाग्दो भिर मात्र थियो। असह्य पीडाबीच उहाँले त्यही डर लाग्दो बाटोमै शिशुलाई जन्म दिनुभयाे। नवजात शिशु रगत र माटोले लत्पतिएको अवस्थामा थियो। तर ती कठिन क्षणहरूमा पनि आमाको ममता र साहस कमजोर थिएन ।
आफ्नो ज्यानको पर्वाह नगरी साङमुले मोबाइल फोनमार्फत छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गर्नुभयाे। खबर पाएलगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु बुढा र प्रस्तुती केन्द्र छायल गाउँकी तिला मल्ललाई जानकारी दिनुभयाे। त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि खटियो।
स्थानीयका अनुसार, प्रहरी चौकी छायल र स्वास्थ्य चौकी छायलका अनमी विष्णु बुढा प्रस्तुती केन्द्र छायलकी अनमी तिला मल्ल समयमै नपुगेको भए आमा र शिशु दुवैको ज्यान त्यहीँ जोखिममा पर्ने सम्भावना थियो। उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच साङमु र नवजात शिशुलाई सुरक्षित रूपमा छायल प्रसूति केन्द्र पु¥यायो। तर शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो। अस्पताल करिब चार घण्टाको दूरीमा रहेकाले तत्काल यातायातको अभावले थप चुनौती थपियो।
यहीबीच, मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई छायलमा रहेका स्थानियले फोनमार्फत जिप व्यवस्थापनका लागि आग्रह गर्नुभयाे। अधिकृत रावलको पहलमा जिप व्यवस्था भएपछि प्रहरी र अनमी विष्णु बुढाको टोलीले आमा र शिशुलाई जिल्ला अस्पताल पु¥यायो।
हाल नवजात शिशुको आईसियुमा उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी विष्णु बुढाले जानकारी दिनुभयाे।
साङमुका पति पेमा राप्के लामाका अनुसार, घरमा सानी छोरीको हेरचाह गर्ने कोही नभएकाले उनी घरमै रहेका थिए । साङम केही दिनदेखि माइतीमा बसिरहेकी थिइन्। उनी घर फर्किँदै गरेको खबर नै थिएन। बाटोमै सुत्केरी भएको खबर पाएपछि म छायल बजार पुगेँ, तर उहाँलाई अस्पताल लगिसकिएको रहेछ, उहाँले भावुक हुँदै भन्नुभयाे। घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर उनी हतारिँदै अस्पताल पुगेको बताउनुभयाे ।
उद्धारमा पुगेकी प्रस्तुती केन्द्र छायलकी ईन्चार्ज तिला मल्ल घट्ना स्थलमा पुग्दा आमा शरिर भरी पसिना रक्तश्रापले भिजेको अबस्था थियो । चिसोका कारण शिशु निलो र मुख शरिर भरी ढुङ्गा र माटो लटपटीएको अवस्थामा फेला पारेका ईन्र्चाज मल्लले बताउनुभयाे ।
यो घटना दुर्गम क्षेत्रका गर्भवती महिलाले भोग्नुपरेको पीडा, जोखिम र स्वास्थ्य सेवाको पहुँच अभावको ज्वलन्त उदाहरण बनेको छ। तर, यिनै चुनौतीका बीच एक आमाले देखाएको अदम्य साहस, र समयमै खटिएका स्वास्थ्यकर्मी तथा प्रहरीको सक्रियताले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३