सर्लाही । मधेश प्रदेशमा पनि आज साँझ हावाहुरीसहित वर्षा भएको छ ।
आज दिउँसो ३ बजेसम्म सफा मौसम रहेको मधेशमा त्यसपछि भने हावाहुरीसहित पानी परेको हो । मधेशको कतिपय ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी परेको स्थानीयले जानकारी दिएका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका प्रदीप पौडेलले साँझ ६ बजेपछि हावाहुरीसहित असिना पानी परेको जानकारी दिनुभयो । जिल्लाको अन्य भेगमा भने ठुलो हावाहुरीसहित एक झर राम्रोसँग वर्षा भएको छ ।
हावाहुरीपछि शुक्रबार साँझदेखि मधेश प्रदेशका अधिकांश ग्रामीण भेगमा बिजुली अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । मुख्य बजार क्षेत्रमा बत्ती अनियमित भएको छ ।
हावाहुरीले विभिन्न स्थानमा बिजुलीको पोल तथा तारमा क्षति गर्दा मधेशमा बिजुली प्रभावित भएको हो । बाराको सिमराकी सुस्मिता घिमिरेले साँझ ५ बजेतिर झण्डै एक घण्टासम्म निरन्तर हावाहुरी चलेर असिनासहित ठुलो पानी परेको जानकारी दिनुभयो ।
साँझ एक्कासी तीव्ररुपमा हावाहुरीसहित पानी पर्दा जनजीवन प्रभावित बन्यो । जनकपुरमा शिक्षण पेशा गर्ने धनुषाको मिथिला नगरपालिका बाहुनमाराका मनिष काफ्लेले जनकपुरक्षेत्रमा पनि हावाहुरीसहित पानी परेको बताउनुभयो ।
हावाहुरीले मधेशमा मकै, गहुँ, चिचिला लागेका आँप, लिचीलगायतमा क्षति गरेको छ । काँचो इँटामा पनि क्षति पुर्याएको इँटा व्यवसायी मेथुर चौधरीले बताउनुभयो ।
शुक्रबार साँझको हावाहुरीले पुगेको क्षतिको एकिन विवरण आउन सकेको छैन् । शुक्रबार राति ८ बजेसम्म मधेशमा पानी छिट्याउने र मेघगर्जन भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२