सर्लाही । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना सकुशल बाहिर निस्कन सफल भएका छन् ।
बागमती खोलामा पौडी खेल्न गएका सर्लाहीको बागमती नगरपालिका ७ का सरगम माझीका छोरा ६ वर्षीय सफल माझी बाढीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बालक शुक्रबार साँझदेखि बागमतीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार बालक नदीले बगाएर बेपत्ता भएको बारे आज बिहान ६ः३० बजेतिर मात्र प्रहरीमा खबर प्राप्त भएको थियो ।
बेपत्ता बालकको खोजीका लागि शनिबार बिहानैदेखि स्थानीय वासिन्दा, प्रहरी चौकी राजघाट, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका डीएसपी गौतमले बताउनुभयो ।
सफलसँगै पौडी खेल्न गएका अन्य तीन बालक भने सकुशल बाहिर निस्किएर शुक्रबार साँझ नै घर फर्किएका छन् ।
बर्खा लागेर बागमतीनदीसहित जिल्लाका अन्य खोला, खोल्सामा अकास्मत् बाढी आउन थालेकाले सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३