सर्लाही । सर्लाही, रौतहट, सिन्धुली र मकवानपुर जिल्लाको सीमा क्षेत्रस्थित बागमती नदीमा डुबेर दुई युवक बेपत्ता भएका छन् ।
हिजो शनिबार अपरान्ह ४ बजेदेखि सर्लाहीको लालबन्दी नगरपालिका ५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका ९ का १८ वर्षीय रोहित महतो बागमती नदीमा डुबेर बेपत्ता हुनुभएको स्थानीयबासीको भनाइ छ ।
नदीमा डुबेर बेपत्ता युवकहरूको आज बिहानसम्म अवस्था थाहा हुन सकेको छैन ।
दुई युवक मकवानपुरतर्फ पर्ने पुल क्षेत्रबाट सिन्धुलीतर्फको बाटो हुँदै सर्लाही आएर बागमती तर्नेक्रममा डुबेर बेपत्ता भएका हुन् ।
अन्य तीन जना युवक बागमतीमा पौडी खेलेर रौतहटको नुनथरतर्फ निस्कन सफल भए पनि रोहित र गणेश भने बेपत्ता भएको जनाइएको छ ।
यस क्षेत्रमा नुहाउन तथा पौडी खेल्न जानेक्रममा पटकपटक मानिसको मृत्यु हुने गरेको छ । बेपत्ता युवकको परिवारले उनीहरूको खोजीमा स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय नभएको गुनासो गरेका छन् ।
दुई युवक बेपत्ता भएदेखि नै बागमती पुगेका लालबन्दीका स्थानीय प्रशान्त आचार्यले युवकहरूको तत्काल खोजी गर्नुपर्नेमा एक जिल्लाले अर्को जिल्लालाई देखाउने काम मात्र भइरहेको गुनासो गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माले प्रहरी चौकी पौराही र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली बेपत्ता युवकहरुको खोजी लागिरहेको बताउनुभएको छ ।
उहाँले घटनास्थल मकवानपुरतर्फ पर्ने बताउनुभयो ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले इलाका प्रहरी कार्यालय बागमतीसहितको प्रहरी युनिटले बेपत्ता युवकहरुको खोजी गरिरहेको जानकारी दिनुभयो ।
स्थानीय प्रशासनबिच समन्वय नहुँदा बेपत्ता युवकको खोजीका लागि एकले अर्को जिल्लालाई देखाउने काम भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३