सर्लाही । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक हिजो बेलुका तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका–९, मिर्चया गाउँका ३० वर्षका मुकेश राय र ३० वर्षकै रामज्ञान रायको मृत्यु भएको हो ।
हिजो बेलुका ८ बजेतिर खीला गाउँ नजिकै भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी चौकी गौरीशंकरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
दुर्घटनास्थलबाट प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका मुकेश राय र रामज्ञान रायलाई उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी ल्याएको थियो ।
लालबन्दीबाट थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका डिएसपी राईले बताउनुभयो ।
दुर्घटनास्थलबाट उद्धार गरिएकामध्ये सामान्य घाइते हरिपुर्वा नगरपालिका–९, कै २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास रायलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक दुवै युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा नै राखिएको छ । दुर्घटनाको सम्वन्धमा आज बिहानबाट थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२