सर्लाही ।सर्लाही सदरमुकाम मलंगवामा अज्ञात समूहले एक जना इन्जिनियरको गोली प्रहार गरी हत्या गरेको छ ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सिराहाको सुखीपुर नगरपालिका ६ बैशाखा घर भई मलंगवा १० देबिटोलमा श्रीमतीसँगै डेरा गरेर बस्ने इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो ।
गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रारम्भिक सूचना अनुसार इन्जिनियर यादवलाई फोन गरी डेरा बाहिर बोलाएर गोली प्रहार गरेको पाइएको बताउनुभयो ।
घटना लगत्तै मलंगवाको चारै दिशामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने मानिसको खोजी भइरहेको सिडिओ कडरियाले जानकारी दिनुभयो ।
नेपाल–भारत सीमा क्षेत्रमा अत्यन्त कडाइ गरी ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
मृतक इन्जिनियर यादवको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२