रुकुम पूर्व । रुकुम पूर्व अन्तर्गत विभिन्न वडा क्षेत्रमा हिउँ पर्दा यहाँको जनजीवन प्रभावित भएको छ ।
हिमपात पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १, २ र ३, भुमे गाउँपालिका वडा नं. १ पातिहाल्न, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ हुकाम तथा सिस्ने गाउँपालिका वडा नं. १,२ र ३ लगायतका क्षेत्रमा परेको जनाइएको छ भने अन्य वडाहरुका उच्च क्षेत्रहरुमा पनि हिमपात भएको छ ।
भुमे गाउँपालिका वडा नं. १ पातिहाल्नस्थित मध्यपहाडी लोकमार्गमा हिमपातका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँक्रीबाट प्रहरी निरीक्षक हिमराज बि.क.को कमाण्डमा ५ जना तथा प्रहरी चौकी लुकुमबाट प्रहरी सहायक निरीक्षक अनकमान बि.एम.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लाल बहादुर बिकले जानकारी दिनुभएको छ ।
सडक खुलाउने तथा आवश्यक सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२