रुकुमपूर्व । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटको कमलदह नजिक रहेको पाहुनाघरमा शुक्रबार आज कार्यालय स्थापना गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार निर्वाचन व्यवस्थापनका काम सुरु भएका छन् ।

रुकुमपूर्वमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा पुरुष १७ हजार ५ सय ८२ र महिला १७ हजार १ सय ९० गरी जम्मा ३४ हजार ७ सय ७२ जना मतदाता रहेका छन् ।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक ६ सय ६० मतदाता थपिएका छन् । जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र रहनेछन् । निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने जनाइएको छ । यसपटक रुकुमपूर्वको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ ।
उहाँको उम्मेदवारी घोषणासँगै यहाँको निर्वाचन थप रोचक हुने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय तथा निर्वाचन कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२