रुकुम पूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापिएको पासो तान्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिस्ने गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकका अनुसार नाथको शव सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिमतर्फ ढुङ्गाको कोचमा अड्किएको अवस्थामा फेला परेको हो ।
शव फेला परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीबाट बाहिर निकाली आवश्यक प्रक्रिया अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार माछा मार्न राखिएको पासो तान्ने क्रममा नदीमा चिप्लिएर नाथको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२