काठमाडौँ । सुख्खा मौसममा वन डढेलो, सवारीसाधनबाट निस्किने धुँवा, कृषिजन्य जैविक पदार्थको खुला दोहन तथा धुलोका कारण वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ ।
वर्षा सुरु भएपछि वायुमण्डल केही हदसम्म सफा हुने भए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन् । वायु प्रदुषणलाई नियन्त्रणका लागि स्थानिय सरकारदेखि सङ्घीय सरकारसम्म गम्भीर हुनु आवश्यक छ । सरकारले वायु प्रदुषणलाई विपद् जोखिम अन्तर्गत राख्नुपर्ने सरसफाइको क्षेत्रमा क्रियाशील स्वच्छ सफा नेपालका अध्यक्ष रविन्द्र अधिकारीको भनाइ छ ।
नेपालका अधिकांश जनसङ्ख्या अस्वस्थकर हावामा श्वास फेर्न बाध्य छन् । पछिल्ला केही दशक यता नेपालसहित भारत, पाकिस्तान र बंगलादेश जस्ता दक्षिण एसियाली मुलुकहरू उच्च वायु प्रदूषणको चपेटामा परिरहेका छन् ।
नेपालमा यसको अवस्था झनै गम्भीर बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अध्ययनअनुसार नेपालमा बर्सेनि २६ हजार मानिसको मृत्यु वायु प्रदुषणका कारण हुने गरेको छ ।
नेपालले वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डमार्फत ३१ प्रकारका मुख्य प्रदुषकको मात्रा नियमन गरेको छ । अन्य प्रदुषकहरूको नियमित र व्यापक निगरानीको अभावले वास्तविक अवस्थाको स्पष्ट चित्र प्रस्तुत हुन सकेको छैन ।
डब्लूएचओको तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको मृत्यु वायु प्रदुषणका कारण हुने गरेको छ ।
नेपालमा मात्र वार्षिक करिब २६ हजार मानिसले वायु प्रदूषणकै कारण ज्यान गुमाउनुपरेको छ । यति गम्भीर असर हुँदाहुँदै पनि वायु प्रदुषणबाट हुने जोखिमप्रति आवश्यक ध्यान पुग्न सकेको देखिँदैन ।
प्रत्येक बर्ष काठमाण्डौँ वायु प्रदुषणको हिसावले उच्च जोखिममा हुन्छ । यहाँको बनावट, भूगोलले गर्दा प्रदुषण बाहिर निस्किन पाउँदैन । प्रदुषण नियन्त्रणका लागि आम मानिसमा सचेतनाको आवश्यक देख्नुहुन्छ स्वच्छ ऊर्जा नेपालका कार्यक्रम अधिकृत केशव राज पोखरेल ।
नेपालमा घरायसी इन्धनको प्रयोग, उद्योग–कलकारखाना, सवारीसाधन, कृषिजन्य जैवीक पदार्थको खुला दहन, वन डढेलो तथा ठोस फोहोरमैला जलाउने कार्य वायु प्रदुषणका प्रमुख स्रोतहरू हुन् ।
तर यी स्रोतहरूबाट कति मात्रामा प्रदुषण उत्सर्जन भइरहेको छ भन्ने अद्यावधिक र विश्वसनीय तथ्याङ्क छैन ।
यसकारण वायु प्रदुषणका वास्तविक स्रोत पहिचान गरी प्रभावकारी नियन्त्रण गर्नका लागि पूर्ण र वैज्ञानिक ‘इमिसन इन्भेन्ट्री’ प्रणाली स्थापना गर्नु अपरिहार्य रहेको सरोकारवाला बताउँछन् ।
नेपालमा वायु प्रदुषण हुनुमा मुख्य कारण डढेलो पनि हो । नेपाल जस्तो देशमा प्रत्येक वर्ष डढेलोको कारणले जडिबुटी, चराचुरुङ्गी र जनावरहरुको ज्यान जाने गरेको छ ।
डढोलो नियन्त्रणका लागि आवश्यक स्रोतसाधनको कमि हुनु अहिलेको गम्भीर समस्या रहेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का कोषाध्यक्ष शान्ता न्यौपाने बताउनुहुन्छ ।
विशेष मौसमी अवस्थामा भारतलगायत अन्य दक्षिण एसियाली मुलुकहरूबाट हावाको बहावसँगै नेपाल भित्रिने प्रदुषकहरूले पनि वायु गुणस्तरमा उल्लेख्य प्रभाव पार्ने गरेको छ् ।
तर सीमापार प्रदुषणले समग्र नेपालमा कति असर पारिरहेको छ भन्नेबारे ठोस तथ्याङ्कको अभाव छ ।
वायु प्रदुषण नेपालको मात्र समस्या होइन । यो दशकौँदेखि निरन्तर बल्झिँदै आएको दक्षिण एसियाली क्षेत्रकै साझा वातावरणीय चुनौती हो । नेपाल पनि यो समस्याबाट बच्न सकेको छैन् । वायु प्रदुषणलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अन्तर्गत राखिएको छ ।
प्राधिकरणले यसै अनुरुप वायु प्रदुषण नियन्त्रण राष्ट्रिय कार्ययोजना २०८२ लागु गर्न लागेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
वायु प्रदुषण नियन्त्रणका लागि राष्ट्रिय नीतिहरू सुदृढ गर्नुका साथै भारत, पाकिस्तान लगायत छिमेकी राष्ट्रहरूसँग क्षेत्रीय तथा अन्तरदेशीय सहकार्यलाई समेत बलियो बनाउन आवश्यक छ ।
समयमै प्रभावकारी कदम चाल्न नसकिए वायु प्रदुषणले नेपालको जनस्वास्थ्य, अर्थतन्त्र र भावी पुस्तामाथि गहिरो असर पार्ने निश्चित छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२