काठमाडौँ । मिथ्या तथा भ्रामक सूचना पहिचान र न्यूनिकरणका लागि सञ्चारमाध्यम, सरोकारवालादेखि युवा वर्गको भूमिका महत्वपूर्ण हुने औँल्याइएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘बढ्दो मिथ्या तथा भ्रामक सूचना पहिचान र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले भ्रामक र मिथ्या सूचनाले समाजमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले भ्रामक र मिथ्या सूचना फरक–फरक भएको स्पष्ट पार्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा समाजमा हिंसा र नकारात्मक भावना फैलाउने कार्यलाई संविधानले मान्यता नदिने बताउनुभयो ।
राज्यले मिथ्या तथा भ्रामक सूचना फैलिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।
आयोगले गलत सूचना रोक्न काम गरिरहेको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता प्राध्यापक लेखनाथ पण्डितले सामाजिक सञ्जालमा भाइरल सामग्रीलाई सोचविचार नगरी लाइक, सेयर र कमेन्ट नगर्न आग्रह गर्नुभयो ।
युवा वर्गले घरपरिवारबाटै गलत सूचना रोक्ने अभियान सुरु गर्न सक्ने भन्दै एउटै स्रोतमा निर्भर नहुन सुझाव दिनुभयो ।
डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले चुनावी माहोलमा मिथ्या र भ्रामक सूचनाको बाढी आउने भन्दै सही सूचना पहिचान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गलत सूचना ग्रहण गर्दा गलत निर्णय हुने भएकाले सञ्चारमाध्यमले जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत महेन्द्र सिंहले काउन्सिलमा भ्रामक सूचनासम्बन्धी उजुरी आएपछि कारबाही हुने गरेको जानकारी गराउनुभयो । जेनजी आन्दोलनपछि ३ सयभन्दा बढी अनलाइनमाथि कारबाही गरिएको उहाँको भनाइ छ ।
अधिकृत सिंहले अहिलेसम्म १ सयभन्दा बढी उजुरीमध्ये ९८ जनामाथि कारबाही भएको जानकारी गराउनुभयो ।
अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले कारबाहीभन्दा पहिले व्यापक सचेतना अभियान आवश्यक रहेको भन्दै निर्वाचनका बेला सरकारको प्राथमिकता सचेतनामा हुनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागि सारजावेद खानले मिस–इन्फरमेसन कम गर्न नेपाल सरकार र प्रेस काउन्सिलले गलत तथा भ्रामक सूचना फैलाउनेमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी सुशीला डङ्गोलले सही माध्यमको छनोट आवश्यक रहेको भन्दै प्रसारण भइसकेका सूचनाको समेत पुनः परीक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भ्रामक सूचनाकै कारण जेन्जी प्रदर्शनका क्रममा देशले अपूरणीय क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
सञ्चारकर्मी अर्चना झाले भ्रामक सूचना कुनै एक व्यक्तिमा सीमित नरही सम्पूर्ण समाजको समस्या भएको बताउनुभयो । भ्रामक समाचारलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको भन्दै विशेषगरी युवावर्गमा सचेतनाको आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।
कानुनकी विद्यार्थी रिना साहले गलत सूचना सम्प्रेषण रोक्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै सञ्चारमाध्यमको दायित्वप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।
मनोविज्ञानकी विद्यार्थी शुस्मा गुरुङले छोटो र झुटो सूचना नै बढी भ्रामक हुने भन्दै यस्ता सूचनालाई कसरी चिर्न सकिन्छ भन्ने बारेमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
पत्रकारिताकी विद्यार्थी होअंक्षा खड्काले गलत सूचना सुरुवात अमेरिकाबाट भए पनि त्यसको प्रभाव नेपालसहित अन्य देशमा फैलिएको बताउनुभयो । उहाँले भ्रामक सूचना रोक्न डिजिटल साक्षरताको आवश्यकता औंल्याउनुभयो ।
मिथ्या तथा भ्रामक सूचना कुनै एक व्यक्तिको समस्या नभइ समाजकै साझा चुनौती भएको भन्दै विशेषगरी युवावर्ग, सञ्चारमाध्यम र डिजिटल प्रयोगकर्ताहरू जिम्मेवार र सचेत हुनुपर्ने छलफलबाट निष्कर्ष निकालिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२