
तस्बिरः बालकुमार शर्मा
जाजरकोट बसपार्कस्थित मोबाइल पसलमा आगलागीपछि देखिएको क्षतिको अवस्था।
जाजरकोट। जाजरकोट सदरमुकाम खलङ्गा स्थित बसपार्क क्षेत्रमा गएराति करिब १२ बजे भीषण आगलागी हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। आगो बिहान मात्रै नियन्त्रणमा आएको हो।
बसपार्कमा रहेको सौरभ एढड गौरब सप्लायर्समा अचानक आगो लागेको थियो। पसल सञ्चालक कर्णबहादुर वलीका अनुसार पसलभित्र रहेका मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सँगै जोडिएको अर्को पसलका प्लास्टिक तथा हार्डवेयर सामग्री, भाडाकुडाँ र कपडासमेत जलेर दुईवटै पसल खरानी भएका छन्।
रातिको समय भएकाले आगलागी ढिलो थाहा हँदा क्षति ठुलो भएको सञ्चालक वलीले बताउनुभयो। सामान मात्रै ८० लाखभन्दा बढीको जलेको छ, घरमा समेत क्षति पुगेको उहाँको भनाइ छ। पसलको बीमा नभएकाले आफू ठूलो मारमा परेको भन्दै उहाँले सबैसँग सहयोगको अपिल गर्नुभएको छ।
आगलागी भएको खवर पाएलगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। नजिकै सेनाको टोली भएकाले तत्काल परिचालन हुँदा थप क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन्।
भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीकाअनुसार रातिको समयमा खानेपानी लाइनसमेत उपलब्ध नभएकाले आफ्नै घरको छतमा रहेको पानी ट्यांकीबाट पानी उपलब्ध गराएर आगो नियन्त्रणमा सहयोग गरिएको थियो।
खलङ्गामा दमकलको व्यवस्था नहँदा पटक पटक आगलागीका घटनामा ठुलो धनजनको क्षति हुँदै आएको छ । स्थानीयले समयमै दमकलको व्यवस्था गर्न माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२