जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि झरेको पहिरोले घर तथा टहरा बगाउँदा दुई जना वेपत्ता भएका छन् । दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० जना घाइते भएका छन् ।
३ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको र ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो दिउँसो करिब ४ बजेदेखि परेको पानीका कारण भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको हो ।
पहिरोका कारण केही घर भत्किएको र अन्य घरसमेत जोखिममा परेको सूचना प्राप्त भएपछि प्रहरी तथा सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमाण्डमा ११ जना तथा सशस्त्र प्रहरी बल, आश्रित गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल करिब ८–१० किलोमिटर उत्तरपूर्वमा पर्ने भए पनि बाटोमा पहिरो आएर अवरुद्ध भएकाले उद्धार टोली पैदल घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
५४ जनाको उद्धार गर्ने गरि प्रहरी विहानै देखि खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता सुधीर कुमार प्रदानले जानकारी दिनु भयो ।
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुला निवासी अन्दाजी ५४ वर्षीया उमासिंह खत्री र चिसापानी निवासी भीमबहादुर कार्की वेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्याला निवासी पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुङ्गा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घरमा रहेका पाँच जना परिवारका सदस्यलाई आफन्तको घरमा राखिएको छ । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले भत्किएर पूर्ण रूपमा क्षति भएका छन् । ती टहरामा भने हाल मानिस बसोबास नगरेको प्रहरीले जनाएको छ ।
रिसाङ निवासी रामबहादुर शाही पहिरोमा पर्दा छाती, टाउको र हातमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई नेपालगञ्ज रिफर गरिएको छ ।
आरन सञ्चालक ४५ वर्षका सिद्धीबहादुर कामीको ढाडमा चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका–२ चिसापानी निवासी ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
भेरी नगरपालिका–१ डौरीकाँडा निवासी ४५ वर्षका मनवीर चदराको टाउकोमा चोट लागेको छ । पहिरोमा परेर १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक र करिब ५२ वर्षीय केदार कार्की पनि घाइते हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३