काठमाडौँ । नेकपा एमालेले फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग हुनेक्रम बढेको भन्दै निर्वाचन आयोगलाई कडाइका साथ प्रस्तुत हुन अनुरोध गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज पत्रकार सम्मेलन गर्दै आमनिर्वाचन २०८२ का प्रेस संयोजक तथा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले कृत्रिम बुद्धिमता (एआई) को दुरुपयोग गरी आफ्ना उम्मेदवार तथा नेताहरुको मानमर्दन गरिएको बताउनुभयो ।
पछिल्लो समय गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामग्रीहरू प्रसारले सामाजिक सद्भाव भड्काउने, राजनीतिक धु्रवीकरणको भाष्य खडा गर्ने गम्भीर चुनौती सिर्जना गरेको शाहीको भनाइ छ ।
एआई प्रविधि प्रयोग गरी तयार गरिएका ‘डिपफेक’ भिडियो, भ्रामक अडियो तथा बनावटी समाचार सामग्रीहरू प्रसारित गरेर मतदातालाई भ्रमित गर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूको छवि धूमिल पार्ने प्रयास गर्नु निन्दनीय रहेको एमालेले जनाएको छ ।
‘यतिबेला मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थामा धार्मिक, साम्प्रदायिक तथा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन । नेकपा (एमाले) सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा नागरिकलाई धार्मिक सहिष्णुता, पारस्परिक आपसी सम्मान र सामाजिक एकताको भावना थप सुदृढ गर्न आह्वान गर्दछ ।’ प्रचार विभाग प्रमुख शाहीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
अनेक बहानामा निर्वाचन सार्न भ्रामक हल्ला चलेकोप्रति ध्यान केन्द्रित भएको भन्दै एमालेले घोषित मिति फागुन २१ मै निर्वाचन हुनुपर्ने दोहर्याएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णय गरेको भन्दै जेन जी आन्दोलनपछिको घटनाहरूको छानवीन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखाली गर्ने कार्य गरेको पनि एमालेको आरोप छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२