ताप्लेजुङ । सिरहाको सलहेश युवा क्लबले तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि चुमेको छ । हिजो भएको फाइनल खेलमा गत वर्षको उपविजेता सिरहाले चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल पराजित गर्दै उपाधि चुमेको हो ।
खेलको ७९ औं मिनेटमा सिरहाको सुनिल खड्काले पहिलो गोल गर्न सफल हुनु भएको थियो । त्यस्तै ९० औं मिनेटमा युसुफ मलिकले गोल गरेसँगै ललितपुर पराजित हुन पुगेको हो ।
४ जना बिदेशी खेलाडी सम्मीलित टीम सिरहाले प्रतिष्पर्धा गरेको कुनै पनि खेलमा गोल नखाइ प्रतियोगिताको उपाधि चुमेको हो ।
सेमिफाइनलमा ललितपुरले सुनसरीको द योङ ब्रदर्श क्लबलाई ट्राइबेकरमा ३–१ र सिरहाले झापाको रेड स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा उपाधिका लागि भिडन्त पक्का गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सिरहाका छिरिङ गुरुङलाई यमाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको छ । फाइनल खेलमा सलहेसकै सुनिल खड्का म्यान अफ द म्याच घोषित हुँदै सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै सलहेसकै रेन्बो चौधरी उत्कृष्ट गोलरक्षक बन्नुभयो ।
चर्च ब्वाइजका आविस्कार खड्का उत्कृष्ट डिफेन्डर, चर्च ब्वाइजकै युवराज ढकाल र आकास राई क्रमशः उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फर्वाड बन्नुभयो । त्यसैगरी आयोजक टोलीका तर्फबाट सहभागी तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङका सुहाङ लिम्बूले राइजिङ अवार्ड (उदयमान खेलाडीको सम्मान) पाउनुभएको छ ।
प्रतियोगितामा उत्कृष्ट कोच भने सलहेस युवा क्लबका राजिवकुमार यादव बन्नुभयो । यसरी विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडी तथा कोचले ट्रफीसहित जनही १५ हजार रुपैयाँका दरले नगद पुरस्कार पाउनुभएको छ ।
प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा खेलाइने गरिएको प्रतियोगितामा यस वर्ष अन्तर्राष्ट्रिय पाहुना टोली भारत, सिलिगुढीको लिजेन्ट फुटबल एकेडेमीसहित विजेता र उपविजेता टोली, आयोजकका तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब, फिदिम स्पोर्टिङ क्लब पाँचथर, साहारा क्लब पोखरा, द योङ ब्रदर्स क्लब इटहरी र रेड स्टार फुटबल क्लब झापा रहेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२