चर्च ब्वाइज क्लब ललितपुर फुङ्लिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई टाईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले फाइनलको यात्रा तय गरेको हो । खेलको ७६ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गरेपछि सुनसरीले अग्रता लिएको थियो । तर इन्जुरी समयमा ललितपुुरले पाएको फ्रिकिकमार्फत गोल फर्काएपछि खेल १–१ को बराबरीमा टुङ्गिएपछि प्रतियोगिता टाइबेकरमा धकेलिएको थियो । आज सेमिफाइनलको दोश्रो खेलमा झापाको रेड स्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेताले पर्सि शनिवार हुने उपाधि भिडन्तको लागि ललितपुरसँगको भेट पक्का गर्नेछ । सिराहाले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० र झापाले सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । उता ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमीलाई १–० र सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२