नेपालमा धेरै जात्रा र पर्व मनाइन्छ । पाल्पाको प्रख्यात भगवती मन्दिरमा मनाइने जात्रा भने भिन्न छ । किन भने, यो जात्रामा धार्मिक र सांस्कृतिक महत्व मात्र नभइ नेपाली वीरता र देशभक्ति इतिहास पनि जोडिएको छ । पाल्पा भगवतीको तीनतले मन्दिर कर्णेल उजिरसिंह थापाले १८७२ सालमा निर्माण थालनी गरी चार वर्ष लगाएर पूरा गरेका गर्नुभएको हो । उहाँ तिनै उजिरसिंह हुनुहुन्छ, जसको नेतृत्वको नेपाली फौजले १८७२ साल वैशाख ७ गते जितगढीमा अङ्ग्रेजलाई परास्त गरेको थियो । भगवती जात्राको रोचक प्रसङ्ग सोही युद्धसँग जोडिएको छ । अङ्ग्रेजसँग युद्ध गर्न जानुअघि कर्णेल उजिर सिंहले विजय भएमा तानसेनमा ठूलो मन्दिर बनाई खटजात्रा चलाउने भाकल गर्नुभएको थियो । त्यतिन्जेलसम्म भगवतीको प्रस्तर मूर्ति थियो । भगवतीको आशीर्वादले भाकल पूरा भइ अङ्ग्रेजसँगको युद्ध जितेको विश्वासमा मन्दिर उहाँले मन्दिर बनाउनुभएको हो ।
पुरानो प्रस्तर मूर्तिलाई गर्भमा राखी अष्टधातुले बनेको अठारबाहु भएकी महिषासुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी दुर्गा पञ्चायनको रूप दिइएको थियो । तानसेन काठमाडौँपछि धेरै जात्रा हुने सहर हो । यहाँ वर्षभरि विभिन्न देवीदेवताका रथयात्रा गरिन्छ । तर, श्री ७ रणउजिरेश्वरी भगवतीको खटयात्रा फरक छ । वास्तवमा यो विजयोत्सव जात्रा हो । यो जात्रासँग इष्ट इन्डिया कम्पनी सरकारलाई परास्त गरी विजय हासिल गरी राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि जोडिएको छ । यसको इतिहास २०६ वर्ष पुरानो छ ।

भगवती जात्रा प्रति राज्यको आकर्षण जिल्लामा सङ्घीय सरकारको मुख्य प्रतिनिधिका रुपमा रहँदै आएका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले भगवती जात्रा पूर्व मध्यराती वली दिएर पुजाआजा गर्ने तथा जात्राका दिन पनि वली सहित पुजाआजा गरेपछि रथयात्रा प्रारम्भ गर्ने परम्परा रहेबाट राज्यको एउटा तहमा प्रत्यक्ष, सक्रिय सहभागिता रहँदै आएको देखिन्छ । केही यता चाहिँ अझ उच्चस्तरमा सम्माननीय राष्ट्रपति, माननीय मुख्यमन्त्री, माननीय मन्त्री, माननीय सांसदहरू, नेपाली सेनाका प्रधानसेनापतिसमेत सिन्दुर जात्रामा सहभागी भइ अवलोकन गर्ने गरेबाट जात्राको गरिमा झन् बढेको मात्र छैन, यो जात्राले व्यवहारत राष्ट्रिय पर्वको मान्यता प्राप्त गरिसकेको छ, भन्न सकिन्छ । यस्तै लुम्बिनी प्रदेश सरकारले पनि केही वर्ष यता भगवती जात्राको दिन बिदा दिने घोषणा गरेर राज्य संस्कृतिको संरक्षण र प्रवद्र्धनमा संवेदनशील रहेको प्रमाणित गरिसकेको छ ।

पाल्पाली नागरिकको अपेक्षा नेपाली सेनाको बलिदानको गौरवमय इतिहास स्मरण गराउनुका साथै धार्मिक सदभाव, एकता र सांस्कृतिक वैभवलाई विश्वभर फैल्याउने साधनकोे भूमिका खेलेकोे छ, भगवती जात्राले । जीतपुरमा विजय हुनु नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय स्वाधिनता सुरक्षित गर्न नेपाली सेना सफल भएको परिघटना रहेकोे, राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको, नेपाली सेनाको सान, वीरता र सौर्यको प्रतिकका रुपमा स्थापित भएको हुँदा भगवती जात्रालाई घोषित रुपमै राष्ट्रिय सम्मान दिईयोस्, भन्ने चाहना पाल्पाली नागरिकको छ ।
तसर्थ भगवती खटयात्रालाई सङ्घीय सरकारले राष्ट्रिय पर्वको मान्यता दिई उत्सवका रुपमा मनाउने घोषणा यथाशीघ्र गरेर जनभावनाको कदर गरोस् । पाल्पालीहरू यही निर्णयको पर्खाइमा छन् । पाल्पाको भगवती जात्रा र रथ यात्रा यस क्षेत्रकै विशिष्ट परम्परा बोकेको ऐतिहासिक र वीरतासँग जोडिएको परम्परा भएको हुनाले यस जात्रालाई राष्ट्रिय जात्रा र पर्वकै रुपमा लिइ सोहीअनुसारको महत्व दिनुपर्ने यस क्षेत्रका बासिन्दाको भनाइ छ ।
जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आइतबार पाल्पा जिल्लाभर सार्वजनिक बिदासमेत दिएको छ । पाल्पाको प्रख्यात भगवती मन्दिरमा निकालिने यो जात्राको अवलोकन गर्न आज अर्थमन्त्री विष्णु पौडेल पाल्पा आउने कार्यक्रमसमेत तय भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२