पाल्पा । पाल्पामा जंगली (विषालु) च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । यस्तै एक दर्जनभन्दा बढी मानिस बिरामी परेका छन्।
रम्भा गाउँपालिका ५ ताहुँ ओमभन्ज्याङ नजिकका स्थानीयले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।
सोही घटनामा अन्य धेरै व्यक्ति पनि बिरामी परेका छन्। एक ५० वर्षीया महिला गम्भीर अवस्थामा मिसन अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गत जेठ १ गते जंगलबाट च्याउ ल्याएर खाएका उनीहरु बिरामी परेपछि ताहुँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको थियो।
तानसेन नगरपालिका–११ का एकै परिवारका चार जना पनि बिरामी परेर अस्पतालमा उपचार गराइरहेका छन्।
त्यस्तै, तानसेन–८ का दुई जना बिरामी उपचारपछि घर फर्किएका छन्। निस्दी गाउँपालिका–४ का दुई जना गम्भीर बिरामीलाई चितवनको भरतपुर अस्पतालमा थप उपचारका लागि पठाइएको छ।
स्वास्थ्य कार्यालय पाल्पाकाअनुसार जंगलबाट ल्याइएको विषालु च्याउ खाँदा यो घटना भएको हो। हाल केही बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३