सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार राय यादवको नचिनेका व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको हो ।
यादवलाई हिजो बेलुका घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला गोली प्रहार भएको थियो ।
गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपूर्वाकै बसन्तपुर क्षेत्रमा दुर्घटनामा परेको भनिए पनि प्रहरीले पुष्टी गर्न बाँकी छ ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले घटनामा संलग्न व्यक्तिको खोजी जारी रहेको जानकारी दिनुभयो ।
मृतक यादव यसअघि शिक्षण पेशामा आवद्ध भए पनि अहिले खेती किसानी गर्दै आउनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२