मुगु। विश्वका चार प्रमुख धाममध्ये एक मानिने छायाँनाथ धामको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–२, चैन गाउँस्थित छायाँनाथ मन्दिरमा शिवजीको मूर्ति बाजागाजा, पुजारी र सुरक्षाकर्मीको उपस्थितिमा नेपाल प्रहरीले सलामी अर्पण गर्दै धाम यात्रा प्रारम्भ गरिएको हो।
हरेक वर्ष श्रावण शुक्ल अष्टमीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ति निकालेर छायाँनाथ धाममा पु¥याएपछि तीर्थयात्रा सुरु गर्ने परम्परा छ। आजबाट सुरु भएको यो यात्रा जनैपूर्णिमासम्म चल्नेछ।
जनैपूर्णिमादेखि पाँच दिनसम्म धाममा पूजापाठ, होम र व्रत आयोजना हुन्छ। यस अवसरमा मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका जिल्लाबाट हजारौँ तीर्थालु, धामी झाँक्री र भक्तजन दर्शनका लागि आउने गरेका छन्।
पौराणिक कथाअनुसार, भगवान् महादेवले सतीदेवीको शव बोकेर घुम्ने क्रममा सतीदेवीको शेष छायाँनाथमा खसेको विश्वास रहिआएको छ। त्यसैले छायाँनाथलाई ‘चारधाममध्ये जेठो धाम’ मानिने गरिन्छ। भक्तजनहरूका अनुसार यहाँ दर्शन गर्दा पाप कट्ने, मनले चिताएको वरदान प्राप्त हुने विश्वास छ।
छायाँनाथमा तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, घण्टा माला पवित्र गर्ने काम समेत गर्छन्। कतिपय भक्तजन झाँक्री बनेर आउने परम्परा पनि छ।
यसैबीच, नवमीका दिन जिल्लाको अर्को धार्मिक स्थल क्रणमोक्ष मन्दिरमा पनि छायाँनाथको अर्को मूर्ति लैजाने परम्परा छ, जहाँ पनि भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।
शुक्रबार आजदेखि सुरु भएको यो यात्रा ९ दिनपछि अर्थात् पुर्णिमाको पछिल्लो दिनमा सम्पन्न हुनेछ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२