सर्लाही । मधेश प्रदेशका धेरै ठाउँमा आज दिउँसो राम्रो पानी परेपछि किसानहरू खुशी भएका छन्।
लगातारको खडेरीले मारमा परेका किसानलाई आज परेको वर्षाले राहत दिएको छ। सर्लाहीको हरिपूर्वा नगरपालिका–२ का किसान विलास रायका अनुसार, मोटरको सहारामा जसोतसो धान रोप्नुभएको थियो ।
तर आज परेको पानीले रोपिएको धान जोगाउन ठूलो मद्दत पुगेको छ। हरिपूर्वा, ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासीलगायतका ठाउँमा मेघगर्जनसहित राम्ररी पानी परेको हो। यी क्षेत्रहरूमा प्रायः आकाशे पानीकै भरमा खेती गरिन्छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार, यो पानीले अझै बाँकी रहेका खेतमा रोपाइँ गर्न र पहिले रोपिएको धान हुर्कन सहयोग पु¥याउनेछ।
सिँचाइ सुविधा भएका ठाउँमा भने मोटर, पम्पसेट र बागमती सिँचाई आयोजनाबाट पनि पानी दिइँदै आएको छ। चुरे क्षेत्रतिर पानी परेपछि खोलामा पनि पानी बढेको छ। खोलाको पानी खेतसम्म पु¥याउन सके किसानहरूले राहत पाउनेछन् । लालबन्दी–१६ परवानीपुरका दिलबहादुर थापाले खोला सुक्न थालेको बेला पानी परेपछि खोला बगेको देख्दा आशा पलाएको बताउनुभयो । पानी परेपछि मधेशमा केही दिनयताको गर्मी पनि कम भएको छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार मधेसका ८ जिल्ला मध्ये सवैभन्दा धेरै सर्लाहीमा ७ दशमलब ४ मिलिमिटर पानी परेको छ । यस्तै रौतहटमा ५ दशमलब ६ मिलिमिटर, सप्तरीमा ४ मिलिलिटर, सिरहामा दुई दशमलब ६ मिलिलिटर पानी परेको छ । यो पर्याप्त पानी भने नभएको महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२