काठमाडाैँ । स्थानीय तह उपनिर्वाचन अन्तगर्गत मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ । ३२ जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसाे १२ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो । जसका लागि १६२ मतदानस्थलका २९३ मतदान केन्द्र तोकिएको छ ।
उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको उपनिर्वाचनको मतदाता संख्या दुई लाख २६ हजार सात सय ९९ रहेको छ ।
आयोगले यसपटक मतदान भएकै स्थानमा मतगणना गर्ने व्यवस्था गरेको र सोमबारसम्म सबै परिणाम सार्वजनिक गरिने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१, १२:३९