काठमाडौँ । काठमाडौँमा आजबाट एसिया रग्बी प्रतियोगिता सुरु हुँदै छ। भोलीसम्म चल्ने प्रतियोगितामा नेपालसहित एसियाका १६ देशले प्रतिस्पर्धा गर्ने नेपाल रग्बी संघले जनाएको छ ।
जसमा पुरुषतर्फ १४ र महिलामा सात टोलीले प्रतिस्पर्धा गर्ने छन् । इरानले भने अन्तिम समयमा आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएको छ।
पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।
नेपाल बहराइन र उज्वेकिस्तानसँगै समूह बी मा रहेको छ । समूह 'ए'मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह 'सी’मा काजाकिस्तान, कतार, साउदी अरेबिया र श्रीलङ्का तथा समूह 'डी'मा अफगानिस्तान, भारत, बङ्गलादेश र चाइनिज ताइपेई रहेका छन्।
महिलातर्फका सात देशलाई २ समूहमा बाँडिएको छ। समूह 'ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्बेकिस्तान तथा समूह 'बी’ मा भारत, इन्डोनेसिया र श्रीलङ्का छन्।
प्रतियोगितामा शुक्रवार ३० तथा शनिवार २० गरी जम्मा ५० वटा खेल हुने छन् । सिनियरस्तरको एसियाली रग्बी प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१, ०८:४८